शिक्षक दिवस — तपाईंले भविष्य लेख्नुभयो
हामी स्कुल आयौँ,
कहिले आफ्ना सपना बोकेर,
कहिले आफ्नै दुनियाँमा हराएर,
तर हामीलाई सही बाटो देखाउने
एउटा उज्यालो हात सधैँ अगाडि थियो—
त्यो हात थियो, हाम्रो शिक्षकको।
टिचरले किताबका अक्षर मात्र पढाउनुभएन,
जीवनका अर्थ पनि बुझाउनुभयो।
गल्ती गर्दा गाली मात्र गर्नुभएन,
गल्तीबाट सिकेर अघि बढ्न सिकाउनुभयो।
हामी कमजोर हुँदा हौसला दिनुभयो,
हामी निराश हुँदा आशा दिनुभयो,
हामी चुप हुँदा हाम्रो मन बुझ्नुभयो,
र हामी हार्न लाग्दा भन्नुभयो—
“फेरि प्रयास गर, तिमी सक्छौ।”
तपाईंको केयरलाई शब्दले नाप्न सकिँदैन,
तपाईंको सपोर्टलाई मूल्यमा किन्न सकिँदैन।
किनकि तपाईंले हामीलाई
पढाउनुभन्दा धेरै कुरा दिनुभयो—
आत्मविश्वास, संस्कार र भविष्यको सपना।
आज हामी जे बन्ने सपना देख्दैछौँ,
त्यस सपनाको पहिलो अक्षर
सायद तपाईंले नै लेख्नुभएको हो।
हाम्रो सफलताको ताली बज्दा
त्यस तालीमा तपाईंको मेहनत पनि हुनेछ।
समय बित्नेछ,
स्कुलका कक्षा फेरिनेछन्,
हामी ठूला हुँदै जानेछौँ,
तर हाम्रो जीवनमा
तपाईंले छोडेको ज्ञान र सम्झना
कहिल्यै पुरानो हुनेछैन।
शिक्षक केवल पढाउने व्यक्ति होइन,
शिक्षक त भविष्य बनाउने शिल्पकार हो।
हामी विद्यार्थी तपाईंको कृति हौँ,
र हाम्रो सफलतामा
तपाईंको नाम सधैँ जोडिइरहनेछ।
लेखक:सिद्धान्त गुरुङ
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Sidhant gurung
All rights reserved. Content may not be reproduced without permission.