न्याय! न्याय! न्याय!
सरकार किन चुप लागेर बसेको छ?
एउटी बालिकाको अपहरण हुन्छ, उनको जीवन खोसिन्छ, तर सरकार अझै किन मौन छ? के हामीले सरकार चुनेको यस्तै दिन हेर्नका लागि हो? हामीले सरकार चुनेका हौ स्वतन्त्रता, सुरक्षा र न्यायका लागि। तर आज प्रश्न उठिरहेको छ एउटी तीन वर्षकी बालिकाको स्वतन्त्रता यही हो, सरकार?
न्याय माग्दै कति आवाज उठाउनु पर्ने हो? देशमा यस्तो घटना पहिलोपटक भएको होइन, र अन्तिमपटक हुनेछ भन्ने ग्यारेन्टी पनि छैन। त्यस बालिकाले संसारलाई बुझ्न र देख्न भर्खर सुरु गर्दै थिइन्, तर उनको संसार पूरा हुनुअघि नै अधुरो बनाइयो। आज उनको परिवारमाथि के बितिरहेको होला? उनीहरूको पीडा कसले बुझ्ने? के सरकार उनीहरूको साथमा उभिन्छ?
हामीले “न्याय देऊ, सरकार!” भनेर आवाज उठाउँदा के हाम्रो आवाज सुन्ने सरकार हो, कि हाम्रो आवाज दबाउने व्यवस्था? जनताले प्रश्न गर्दा लाठीचार्ज गरेर आवाज बन्द गराउने होइन, जनताको आवाज सुन्ने सरकार चाहिन्छ।
सरकार, गाउँघरमा के भइरहेको छ, समाजमा के भइरहेको छ के तपाईंलाई थाहा छ? कि आँखामा पट्टी बाँधेर यी सबै घटनालाई बेवास्ता गरिरहनुभएको छ?
के छोरी भएर जन्मिनु यति ठूलो अपराध हो?
के छोरी भएर जन्मिनु हाम्रो भूल हो?
आज हामीलाई ठूलो भाषण होइन, न्याय चाहिएको छ।
हामीलाई आश्वासन होइन, सुरक्षा चाहिएको छ।
हामीलाई मौनता होइन, सरकारको जवाफ चाहिएको छ।
सरकार, आज तपाईंले त्यस बालिकाको आवाज बनेर बोल्नुपर्छ।
उनको परिवारको हिम्मत बनेर उभिनुपर्छ।
र संसारभरिका हरेक छोरीको सुरक्षाको पक्षमा आवाज उठाउनुपर्छ।
किनकि एउटा छोरीको न्याय केवल एउटा परिवारको न्याय होइन यो सम्पूर्ण समाजको जिम्मेवारी हो।
न्याय चाहिन्छ।
सुरक्षा चाहिन्छ।
जवाफ चाहिन्छ।
र अब मौनता होइनकारबाही चाहिन्छ।
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Dechen Tamang
All rights reserved. Content may not be reproduced without permission.