एक प्रतिशत ब्याट्री
-सिद्धान्त गुरुङ
फोनको एक प्रतिशत ब्याट्री बाँकी छ,
रातो धर्काले मौन भाषामा
अन्तिम सास गन्दैछ।
त्यसलाई हेर्दा
मेरो जीवन सम्झिन्छु—
बाहिरबाट चलिरहेको,
भित्रबाट भने विस्तारै सकिँदै गएको।
मेरा आशाहरू पनि
त्यही रातो धर्काजस्तै भएका छन्,
देखिन्छन् अझै,
तर उज्यालो हराउँदै गएको छ।
जीवनमा यति धेरै
अधुरा काम छन्,
यति धेरै अधुरा सपना छन्,
बिर्सन नसकिने सम्झनाहरू छन्।
चार्जर भेटिएन भने
फोन निभ्छ,
तर मनको चार्जर
कहाँ पाइन्छ र?
एक प्रतिशत ब्याट्रीले
अझै केही क्षण बाँच्ने प्रयास गर्छ,
म पनि त्यसैगरी
मुस्कानको आवरण ओढेर
भित्रभित्रै टुटिरहेको छु।
सायद
एक दिन यो स्क्रिन पनि अँध्यारो हुनेछ,
तर त्यसअघि
मेरा अधुरा शब्दहरू,
मेरा मौन पीडाहरू,
र मेरा नबिर्सिने सपनाहरू
कसैको सम्झनामा बाँचे भने
त्यही नै मेरो अन्तिम उज्यालो हुनेछ।
— लेखक: सिद्धान्त गुरुङ
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Sidhant gurung
All rights reserved. Content may not be reproduced without permission.