logoखबर दार्जिलिङ
आज होइन...
Poetry

आज होइन...

RT
July 29, 2026Barnesbeg , Darjeeling1 min read👁 5

ज होइन...

बितेका कुरा फेरि गर्नु...

अहिले पनि गाह्रो लाग्छ मलाई।

सुकिसकेको घाउ फेरि

बल्झिन्छ कि भन्ने डर लाग्छ।

हिँड्न छोडेको त्यो बाटोमा

फेरि पाइला चालूँ कि जस्तो लाग्छ,

तर हिँडेँ भने

त्यहीँ कतै फेरि लडिन्छु कि भन्ने

त्रासले रोकिरहन्छ।

आफैँलाई बारम्बार सम्झाउँछु—

"बितेका ती दिनहरू

अब फेरि सम्झन्नँ।"

तर कहिलेकाहीँ

कसैका शब्दले,

कसैका सामान्य प्रश्नले,

ती पुराना दिन र सम्झनाहरूलाई

फेरि मेरो सामु ल्याइदिन्छन्।

अनि म...

एउटा एकान्त कुनामा बसेर,

बितेका पलहरू सम्झँदै,

आँखा भरि आँसु बोकेर,

मन खोलेर रुन मन लाग्छ।

तर आजकल

आफ्नो मनको पीडा

कसैलाई पोख्न मन लाग्दैन।

कहिलेकाहीँ

किताबका कुनै शब्दहरू पढ्दा,

एउटै वाक्यले पनि

मनलाई गहिरो सोचमा डुबाइदिन्छ।

त्यसपछि...

लामो सास फेर्छु,

मनको गहिराइबाट

एउटा आँसु

चुपचाप झर्छ।

तर फेरि

आफैँलाई सम्हाल्छु।

किनकि...

डर लाग्छ,

कसैले यो आँसु देख्ला कि।

सान्त्वना दिने बहानामा

फेरि त्यही प्रश्न सोध्ला कि।

र ती उत्तरहरूले

मेरा सुकेका घाउहरू

फेरि बल्झाइदेलान् कि।

आज...

कति दिन बिते,

कति हप्ता,

कति वर्ष।

कति पटक

एकान्तसँग बसेर

एक्लै रोएँ—

सायद त्यसको हिसाब

मसँग पनि छैन।

धेरैपटक

मनका कुरा भन्न खोजेँ,

तर सुन्ने कानहरू

अत्यन्त कम थिए।

समय भने

चुपचाप अघि बढिरह्यो।

थाहा नै नपाई,

उसैले मलाई

बलियो बन्न सिकायो।

अब यदि फेरि

कसैले सोध्यो भने—

"तिम्रो बितेका दिनको कथा सुनाऊ न..."

म मुस्कुराउँदै यत्ति मात्र भन्छु—

"आज होइन...

मन लागेको दिन सुनाउँला।

सायद...

मन साँच्चै हलुका भएको दिन सुनाउँला।"

Rishiraj Thapa

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:PoetryDarjeelingBarnesbeg

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Rishiraj Thapa

All rights reserved. Content may not be reproduced without permission.