अनिशिचत भविष्य।
टङ ..टङ दुस्रा(दोस्रो) घण्टी बज्यो ।
तेस्तो हतार हतार गाईलाई घाँस, सुंगुरलाई चारो मात्र हालेर कुखुरालाई एक घोँगा मकै छरि राख्नु पनि भ्याएन। स्याँ स्याँ र फ्याँ फ्याँ हुँदै गन्ती पुग्दा फालिन लागि सकेको रहेछ। सेलाइ राखेको फिक्का चियाभन्दा अघि दफादरको नमिठो गाली खायो मनोहर, सबैको प्यारो मनेले।
"बगलको मरदहरू चौबीस नम्बरमा बुट्टा खनाई..." कामदारीले काम खटायो।
काममा खटिसकेपछि घरमा आई हतार -हतार सुकुटीको अचारसँग बेलुकीको बासी भात कुपु कुपु खाएर सिल्टीको एक मग फिका रंग स्वाट्ट पारेर गयो त्यो काममा।
यसरी नै प्रत्येक पल प्रत्येक दिन सप्ताह महिना अनि हरेक वर्ष बित्देैछ मनेको जिन्दगी ।
हुन त उसको सपना त्यसको लक्ष्य कुलेन बगानमा सीमित थिएन।तर कल्पना र यथार्त बीचको पर्खालभित्र उ विवश थियो। कमाने जीवन व्यतित गर्न। कमानकै सरकारी विद्यालयमा नवम् श्रेणीसम्म पढेर छोडेको थियो उसले पढाइ । पढ्नुमा राम्रो नै भए पनि परिस्थितिले मजबूर पढाई छोढेर कुलैन बगानमा मजदुर बन्न पुगेको थियो मने।
कुलैनको तितो परिवेश, प्रत्येक रातको बिषाक्त वातावरणमा हुर्केको मनेले जीवनको यतार्थ रूपलाई सानै उमेरमा देखिसकेको थियो। बाबु चाहिँ बिहान काममा हिँडेपछि ठूलो साँझ परेर मात्र घरमा भित्रीन्थ्यो, टन्नै मातेर। काममा कहिले सीधा नजाने गाउँको प्रत्येक जाँड रक्सी पाउने ठाउँमा बाँकी। मनेको आमा मिर्गौलो रोगले मरेपछी मनेको बाउ यस्तो भएको। सानो छदाँ मनेलाई राम्रो थाहा छ उसको बाउले भनेको - "छोरा पढेर ठूलो मान्छे हुनु। अपसर हुनु।म जस्तो यो कमानको काममा हिढ्ने भइस भने सारै दु:ख पाउँछस। राम्रो पढ्नु ऋण काढेर भए पनि जति पढ्छस पढाँउछु" हो यही कुराहरू दिन रात मनेको बाउले मनेलाई भन्थ्यो। मनेले पनि मन लाएरै पढ्दै थियो। मनेकी आमाले पेवा पात, साग सब्जी रोपेर लोग्नेलाई टेवा नदिएको होइन। तर गरीबको दैव हुन्न रहेछ। मनेको आमालाई कालले या त गरिबीले टपक्कै टिपेर लग्यो।
त्यसपछी मनेको जीवनमा यति बाक्लो तुवाँलो लाग्यो कि मनेले भविस्यको सबै बाटोहरु हराए। यसरी अलमल्ल परीरहेको बेला त्यस दिन मनेले टेकेको जमिन पनि धस्कीयो जुन दिन मनेको बाउ लिभर रोगले थलियो।
अस्पतालमा भर्ना भएर भएको मनेको बाबु थलिएको हप्ता दिनमै मनेलाई सद्दे टुहुरो बनाइ स्वासनीलाई भेेट्न हिडेँ अनन्त यात्रामा।
यही घटनापछी मनेको भविष्य कुलैन कमानको अनिशिचत भविष्यसँग गाँसिन पुगेको थियो। औँला भाँचेर गन्दा हातको सकेर खुट्टाको पनि दुइटा पुग्दो रहेछ काममा हिँडेको। शिल स्वभावको मनेले मान्छेहरूबाट धेरै सान्तवाना पाए पनि व्यवहारिक सहयोग भने पाउन सकेन। त्यति बाबुको बदली काम पाउन पनि कतिलाई हात जोड्यो कतिको सेवा गर्यो मनेलाई थाहा छ।
त्यसको सौभाग्य हो धन्य पायो तर के गर्नु त्यो कमानको केही भरोसा छैन। कुनै पनि दिन बन्द हुन सक्छ पोहोर-परार साल झण्डै निजीकरण भएको। अहीले त झन् बन्द नै हुन्छ भन्ने हल्लाले त झन अरुहरू जस्तै मने पनि आशंकित छन्।
मदजुर संगठनहरू त छन् सबै आफ्नैलाई मात्र चेप्छन्। पोहोर आएको प्रमोशन लिस्टमा मनेभन्दा 5 बर्ष जुनियर दफादर भएको सुकलालको आज बिहानै मनेले गाली खाएको।
आज दिन घमाइलो भएपनि त्यति गर्मी भने छैन। मने एक सुरमा ठूलो कुलैनको बुट्टा खन्दैछ बेला बेला हातको पुरानो आोमेक्स घडी हेर्दै। बल्ल आइपुगीन् रामप्यारी चियाको टिन बोकेर। रामप्यारीले स्टीलको ग्लासमा चिया सारेर पहीलो भाग दफादरलाई दिँदा अनि दफादर रामप्यारीसंग छिल्लीएर बोल्दा मनेलाई रिस उठ्छ तर देखाँउदैन। नदेखाए पनि मने रिसाँउछ दफादरलाई थाहा छ र नै मने दफादरको आँखााको कसिंगर।
रामप्यारी जानु बितिक्कै दफादर कराँउछ- "लाग लाग सबै मेलोमा। बसेर खानुलाई सकारले रोज देको हैन है।"
खैनी माड्दै गरेको माइला आसेँगले - " यो अंग्रेज राज हो? एक फ्वाक खैनि पनि खान नपाउने ?" भनेको मात्र थियो दफादरले भनि हाल्यो-"कमान उडेपछी घरमा बसेर दिनभरी खैनि खाँदै बस्नु।"
आसेँग पनि सहेर कहाँ बस्थ्यो जवाब फर्काइ हाल्यो
"हामी त यसै पनि मजदुर, भारी बोकेर पनि खान्छुम स्टाफहरूको हेर्नु परेको छ।"
यस्तो भनाभैरी सामान्य कुरा हो बगानमा। मुख चलाउने, रिस गर्नेहरूसंग अलिक टाढै बस्छ दफादरहरू। तर त्यो रिस, त्यो आक्रोसले केही फरक पर्दैन। कमान बन्द भइहाल्ने आवस्थालाई त्यसता बिरोध र विद्रोहले टार्न सक्दैन।
साँच्चै कमान बन्द भयो भने ? कहाँ जानु के गर्नु? तर के साँच्चै कमान बन्द हुन्छ त ? सरकारलाई नोकसानी मात्र छ भने किन बन्द हुँदैन त?
हिज अस्ती गन्तीमा भोट माँग्न आउने सबै दलका नेता, श्रमिक संगठनका प्रतिनिधिहरूले बगान कुनै हालतमा बन्द नहुने, वहाँहरूको सरकार गठन भए दैनिक रोज वृद्धि हुने , बढेको पैसा पाउने, बोनस पाउने, न्यायपूर्ण प्रमोसन गर्ने कुराहरू वाचा गरेका छन्। भोट अघिका जन सरोकारमुखि प्रतिबद्धता सम्झेर मनेको मन केही हल्का त भयो तर...
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Sudhir Rai
All rights reserved. Content may not be reproduced without permission.